काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२७ को एकदिवसीय विश्वकप र सन् २०२८ को टी–२० विश्वकपका लागि नयाँ प्रतियोगिता ढाँचा सार्वजनिक गरेको छ ।
स्कटल्यान्डको एडिनबर्गमा भएको आईसीसीको वार्षिक साधारणसभाले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन नयाँ ढाँचा अनुमोदन गरेको हो । नयाँ प्रणाली अनुसार नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्नेछ ।
नेपाल सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भएको तर स्वतः छनोट हुन नसकेका आठ टोलीमध्ये एक हो । त्यसैले नेपालले अब एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन । नेपालसँगै क्यानडा, इटाली, नामिबिया, नेदरल्यान्ड्स, ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र संयुक्त राज्य अमेरिका (यूएसए) पनि सिधै १६ टोलीको ग्लोबल क्वालिफायरमा पुगेका छन्।
ग्लोबल क्वालिफायरका बाँकी आठ स्थान भने क्षेत्रीय छनोटबाट पूरा हुनेछन्। अफ्रिका, एसिया र युरोपबाट समान दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट हुनेछन् ।
१६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरबाट ८ टोलीले विश्वकप खेल्दा प्रत्येक क्षेत्रको उत्कृष्ट एक टोली स्वतः विश्वकपमा पुग्नेछ । त्यसबाहेक समग्र प्रदर्शनका आधारमा उत्कृष्ट थप तीन टोलीले पनि सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन् । यसका लागि आईसीसीले तोकेको न्यूनतम प्रदर्शन मापदण्ड पूरा गर्नुपर्नेछ ।


