काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको टिप्पणी गरेका छन् ।
विशेष अदालतले नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ,’ सांसद न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस कर्मलाई जति ढिला ग¥यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ ।’
विगतका केही श्रृंखलाबद्ध घटनाक्रमहरूले न्यायालय पुनर्संरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नरहेको र आम नागरिकले न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था नरहने उनको दाबी छ ।
‘राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नु पर्दछ र मात्रै देश परिवर्तन गर्न सम्भव छ,’ सांसद न्यौपानेले लेखेका छन्, ‘यो मेरो आवेगमा आएर बुझेको बुझाई नभई गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो ।’


