२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रदेश सरकारमा कांग्रेससँग सहकार्यको तयारी भएपछि झलनाथको असहमति, वामपन्थीबिच सहकार्यमा जोड

प्रदेश सरकारमा कांग्रेससँग सहकार्यको तयारी भएपछि झलनाथको असहमति, वामपन्थीबिच सहकार्यमा जोड

साझा पोष्ट
आइतबार, साउन ३ २०८३
  • images
    images
    प्रदेश सरकारमा कांग्रेससँग सहकार्यको तयारी भएपछि झलनाथको असहमति, वामपन्थीबिच सहकार्यमा जोड

    काठमाडौं । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी शक्तिहरुबीच एकता र सहकार्यमा जोड दिएका छन् । 


    images

    आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन्। प्रदेश सरकारमा नेकपाले नेपाली कांग्रेससँग सहकार्य गर्ने तयारी गरेपछि खनालको यस्तो चेतावनी आएको हो । 
    विशेषगरी प्रदेश सभामा सरकार बनाउने सन्दर्भमा भइरहेका राजनीतिक कसरतप्रति लक्षित गर्दै उनले कुनै पनि नयाँ राजनीतिक समीकरण बनाउनुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन्।

    ‘कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्। आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस्,’ उनले माग गरेका छन्, ‘क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्।’

    खनालले ‘केही नेताहरूको व्यक्तिगत स्वार्थ र कुर्सी मोहका लागि गरिने सम्झौतावादी प्रवृत्ति रोक्न आग्रह गर्दै अहिलेको समय पदका लागि साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको’ दाबी गरेका छन्।

    वामपन्थीहरूले आफूभित्रका आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल गर्नुपर्ने उनको सुझाव छ।विगतमा नीतिहीन, वर्ग दृष्टिकोणविहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग एकता गरेर कम्युनिस्ट पार्टीले गल्ती गर्दै आएको भन्दै खनालले फेरि त्यस्तै साँठगाँठ गरेर पार्टीको प्रतिष्ठामा थप आँच पुर्‍याउने खतरा बढेको औँल्याएका छन्।

    नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

    खनालले बालेन शाह नेतृत्वको नयाँ सरकार बनेपछि मुलुकका समस्या समाधान हुने आम जनताको आशा निराशामा परिणत भएको दाबी गरेका छन्।

    वर्तमान सरकारको पालामा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताको सूचनाको हक, छिमेकीसँगको सम्बन्ध र राज्यका अङ्गहरूबीचको सम्बन्धसमेत खलबलिन थालेको उनको आरोप छ।


    ‘यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन्,’ खनालले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र घरेलु अस्तव्यस्तताविरुद्ध आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको देख्न चाहन्छन्।’

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार