काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भीड व्यवस्थापनमा सुरक्षा निकाय असफल भएको र सेनाको भूमिका अन्योलग्रस्त बनेको टिप्पणी गरेका छन् ।
सर्वदलीय बैठकमा भएको छलफलका आधारमा आन्तरिक सुरक्षा सम्बन्धी आफ्नो विश्लेषण सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
दङ्गा नियन्त्रणमा सेनाको प्रयोग तात्कालिक समाधान मात्र हुने र यसले स्थायी समाधान नदिने पोखरेलले बताएका छन्। "यस्तो घटनामा सरकार, राजनीतिक दल र नागरिक समाजको पहल नै मुख्य विषय बन्नु पर्छ," उनले भनेका छन्, ‘अहिले नेपाली समाज कसैप्रति भरोसा नभएको 'सामाजिक अराजकता'को स्थितिमा पुगेको देखिन्छ।"
संविधान सभाको समयसम्म लाखौँको भीड सहजै व्यवस्थापन गर्न सक्ने नेपालको सुरक्षा निकाय पछिल्ला दिनमा केही हजारको भीड नियन्त्रण गर्न पनि निरन्तर असफल देखिँदै आएको पोखरेलले उल्लेख गरेका छन्। यसको कारण खोजेर तत्काल समाधान गर्नु आजको पहिलो आवश्यकता भएको उनको भनाइ छ।
प्रहरीको मनोबल गिरेकै परिणाम हो कि वा साधन–स्रोतको अभाव र व्यावसायिक दक्षताको कमी हो भन्ने प्रश्न पोखरेलले उठाएका छन्। दङ्गा नियन्त्रणको मानक नियमविपरीत मानवीय क्षति हुने गरी बुलेट नै प्रयोग गर्ने स्थिति आउनुका पछाडि अन्य कुनै अदृश्य कारण छ कि भनेर अध्ययन गर्नुपर्ने उनले बताएका छन्। यी कारण पहिचान नगरी निकालिने अल्पकालीन समाधानले समस्या दोहोरिइरहने उनको तर्क छ।
अर्कोतर्फ नेपाली सेना कुन अवस्थामा परिचालित हुन्छ र कुन अवस्थामा हुँदैन भन्ने कुरा अत्यन्तै अन्योलग्रस्त बनाइएको पोखरेलले बताएका छन्। सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको तर आफैँले सुरक्षाको जिम्मा लिएको अति संवेदनशील ठाउँको जिम्मेवारीबाट सरकारको आदेश आएन भन्दै पन्छिने गरेको उदाहरण उनले दिएका छन्।
अधिकांश ठाउँमा जिल्ला सुरक्षा समितिको निर्णयमा सेना परिचालित हुने गरे पनि राजधानीको भदौ २३ र २४ को घटनामा भने परिचालित हुन नमानेको पोखरेलले दाबी गरेका छन्। सुनसरी घटनामा सेना परिचालनको दृश्य सामाजिक सञ्जालमा जसरी आइरहेको छ त्यसले समस्या समाधानमा योगदान नपुग्ने उनको विश्लेषण छ।


