काठमाडौं,साउन १५ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसमा देखिएको सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् ।
शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताए ।
अध्यक्ष अन्सारीकाअनुसार सुनसरीमा डिजेको विषयलाई लिएर भएको सामान्य विवादले साम्प्रदायिक रूप लिनु र गोली चाल्नेसम्मको परिस्थिति सिर्जना हुनु देशकै लागि घातक छ । भेटका क्रममा अन्सारीले गोली चलेको विषयमा प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइप्रति पनि प्रश्न उठाए ।
सुरुमा प्रहरीले गोली नचलाएको दाबी गरे पनि भोलिपल्टै प्रधानमन्त्री कार्यालयबाट प्रहरीले गोली चलाएको कुरा आउनुले घटनालाई रहस्यमय बनाएको उनको तर्क छ ।
प्रधानमन्त्री साहसँगको छलफलमा अन्सारीले मधेस हाल अन्याय र पीडामा रहेको उल्लेख गर्दै मधेसी जनताले वर्तमान सरकारप्रति राखेको आशालाई निराशामा बदल्न नहुनेमा जोड दिए । विगतका प्रधानमन्त्रीहरू निर्वाचित क्षेत्रमा मात्र सीमित हुने गरेको भएपनि वर्तमान प्रधानमन्त्रीलाई सिंगो मधेसले अपनत्व महसुस गरेको स्मरण गराउँदै उनले मधेसको शान्ति सुरक्षामा ठोस कदम चाल्न आग्रह गरे ।
जवाफमा प्रधानमन्त्री साहले सुनसरी घटनाप्रति सरकार गम्भीर रहेको र यस्ता घटना दोहोरिन नदिन ठोस नीति ल्याउने आश्वासन दिएका छन् ।
प्रधानमन्त्रीले सिंगो देश र देशबासीको हितमा सरकारले काम गर्ने प्रतिबद्धता जनाउँदै मधेसको समस्या समाधानमा सरकार चिन्तित रहेको बताएको अध्यक्ष अन्सारीले जानकारी दिए ।
अध्यक्ष अन्सारीले भने ‘एउटा व्यक्तिको झगडा साम्प्रदायिकतासम्म पुग्नु राष्ट्रका लागि नोक्सानीको कुरा हो । घटना घटेको पाँच दिनपछि मात्र गृहमन्त्री घटनास्थल पुग्नुले सरकारको कमजोरी झल्काउँछ । यदि सरकार भोलिपल्टै पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन । कतै यो घटनालाई मुठभेड गराउने वा मधेसलाई रणभूमि बनाउने सोच त होइन भन्ने शङ्का उब्जिएको छ ।’
यसअघि बिहीबार राति अध्यक्ष अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि यसबारे झन्डै दुई घण्टा छलफल गरेका थिए । सरकारको संयन्त्रले घटना हुनु पूर्व र भइसकेपछि पनि प्रभावकारी काम गर्न नसकेको आम जनताले महसुस गरेको उनको ठहर छ ।


