२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

'अहिले नेपाल बहुसंकटको अवस्थामा छ'

'अहिले नेपाल बहुसंकटको अवस्थामा छ'

साझा पोष्ट
शनिबार, साउन १६ २०८३
  • images
    images
    'अहिले नेपाल बहुसंकटको अवस्थामा छ'

    काठमाडौं,साउन १६ ।प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक बहुसंकट ( पोली–क्राइसिस)को अवस्थाबाट गुज्रिरहेको बताएका छन्। 


    images

    'समाज र राजनीतिबीचको अन्तरसम्बन्ध'बारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रा. खनालले राजनीतिक दलहरूले निर्वाचनमा बेहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणी गरे।

    मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको औंल्याए। 

    ‘अहिले नेपाल बहुसंकटको अवस्थामा छ। समस्या एकपछि अर्को गर्दै आइरहेका छन् तर तिनको दीर्घकालीन समाधानभन्दा तत्काल शिथिलीकरणमा मात्र ध्यान दिइएको छ,’ प्रा. खनालले भने, ‘समस्या र संकट फरक कुरा हुन्। समस्या समाधान गर्न सकिन्छ तर जब विद्यमान संस्था, प्रक्रिया र उपायहरूले समाधान दिन सक्दैनन्, त्यही अवस्था संकट हो।’

    प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तब मात्र त्यसले संकटको रूप लिने गर्दछ । 

    मिटरब्याज पीडितसँगको सम्झौता र देवानगन्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले अहिले समस्यालाई शिथिल मात्र बनाएको तर सम्बोधन नगरिएको बताए। समस्याको शिथिलीकरण समाधान नभएको उनको भनाइ छ। 

    अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थर मात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिन सक्ने उनले चेतावनी दिए। 

    राजनीतिक दलको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनै पनि पार्टीले आफू किन हा¥यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तरघात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हाबी रहेको उनले औंल्याए। उनले अध्ययनकर्ताले हारको वास्तविक कारण बुझे पनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताए। 

    ‘कुनै पनि राजनीतिक दलले चुनाव हार्नुको वास्तविक कारण आत्मसमीक्षा गर्न चाहँदैन। हारको जिम्मेवारी आफूले लिनुको सट्टा अन्तरघात वा अरूलाई दोष दिने प्रवृत्ति देखिन्छ,’ प्रा.खनालले भने, ‘हारेको पार्टी नै हो भन्ने यथार्थ स्वीकार गरेर सुधारको बाटो खोज्नु आवश्यक छ।’

    विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै उनले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताए। ‘हाम्रो समाजमा तथ्य र अनुसन्धानमा आधारित राजनीतिक बहसको संस्कार कमजोर छ। विश्वविद्यालयहरूमा पनि अनुसन्धानलाई पर्याप्त प्राथमिकता नदिँदा शिक्षण र अनुसन्धानबीचको सम्बन्ध बलियो बन्न सकेको छैन,’ उनले भने।

    हाल आफूले नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारी समेत खनालले दिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार