काठमाडौं, साउन २१ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियामाथि अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भएको व्यवहारको चर्को आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले आक्रोश पोखेका हुन् । दुई दिन अघि वागमती प्रदेशको आगामी मुख्यमन्त्रीका विषयमा छलफल गर्ने क्रममा ओलीले अपमान गरेपछि थपलिया बेहोस भएर ढलेको बताइएको छ । त्यसयता उनी अस्पतालमा उपचार गराईरहेका छन् । कर्णबहादुर थापाले यही विषयमा मुख खोल्दै थपलियालाई त्यस्तो व्यवहार गर्नेहरुलाई अत्याचारी भनेका छन् ।
'गुण्डुमा जेएनको शरीर ढलेको होइन, त्यहाँ त एउटा राजनीतिक आस्था र विश्वास ढालिएको हो । एउटा संघर्षको इतिहास ढालिएको हो । उहाँलाई गरिएको अपमान त्याग, निष्ठा र बलिदानको इतिहासलाई गरिएको अपमान हो । यो घटना पार्टी भित्रको अत्याचारको पराकाष्ठाको रूपमा लेखिनेछ ।' थापाले फेसबुकमा लेखेका छन, 'सत्ताका मठाधिश र भक्तहरूलाई म भन्न चाहान्छु स् जब आस्था र विश्वास घृणामा बदलिन्छ र घृणाले विद्रोहको रूप लिन्छ, त्यसबेला अत्याचारीहरूले अकल्पनीय दण्ड भोग्नु पर्छ । त्यो दिन धेरै टाढा छैन ।'
यस्तो छ कर्ण थापाको स्ट्याटस :
गुण्डुमा ढलेको एक आस्था रविश्वास बारे केही कुरा
एक समय थियो, पार्टी अभ्यक्ष केपी शर्मा ओली पार्टी भित्र निकै कम्जोर हुनुहुन्थ्यो, कतिपय सन्दर्भमा अपमानित पनि । त्यस बेला जेएन थपलिया सगरमाथा भन्दा उचो विश्वास र आस्थाका साथ गाउँ बस्ति, विध्यालय विश्वविद्यालय, गरिव किसान र देशका मुर्धन्य विद्वान विदुषीबिच केपीको पक्षमा दृढतापुर्बक बहस गर्नुहुन्थ्यो । पाँचौ देखि एघारौं महाधिवेशनका सबै मञ्चहरूमा जेएनले केपीको पक्ष कहिल्यै छोड्नु भएन । पार्टीकाममा सधै पहाड जस्तो दृढ भएर उभिदै आउनु भो । न कुनै लोभ लालचले उहाँलाई लोभ्याउन सक्यो न कुनै शक्तिको त्रासले अत्याउन र झुकाउन सक्यो ।
म सम्झन्छु, आठौं राष्ट्रिय महाधिवेशनको पुर्वसन्ध्यामा धेरै नेताहरू केपीको पक्षमा उभिने आँट नगरिरहेको बेला बागमतिबाट केपीको पक्षमा उभिनेमध्य एक महत्त्वपूर्ण पात्र जेएन थपलिया पनि हुनुहुन्थ्यो । म त्यही महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए, जेएन हुन सक्नु भएन । केपी अध्यक्षमा पराजित हुनु भो । जेएन खनाल अध्यक्ष बन्नुभो । त्यस पछि चितवनसङग अलिबढि भावनात्मक रूपमा गाँसिन पुगे म । आठौं देखि नवौं महाधिवेशनको करिव ५ वर्षको अन्तर संघर्षमा जेएन थपलिया केपी कमरेड र पार्टीको पक्षमा दृढतापुर्वक लड्नु भो । उहाँको आस्था र विश्वास कहिल्यै ढलेन ।
पार्टीभित्र लोकतन्त्र मारिएको, मुल्यांकन प्रणाली समाप्त पारिएको , मनपरितन्त्रले सिमा नाँघेको सहन नसकि जेएन थपलिया गुण्डुमा लड्नु भएछ । त्यहि बेला केही पदधारी र केही पदका प्यासिहरूले जेएनको खिसिटिउरि, अपमान र उपहास पनि गरेछन ।
गुण्डुमा जेएनको शरीर ढलेको होइन, त्यहाँ त एउटा राजनीतिक आस्था र विश्वास ढालिएको हो । एउटा संघर्षको इतिहास ढालिएको हो । उहाँलाई गरिएको अपमान त्याग, निष्ठा र बलिदानको इतिहासलाई गरिएको अपमान हो । यो घटना पार्टी भित्रको अत्याचारको पराकाष्ठाको रूपमा लेखिनेछ । सत्ताका मठाधिश र भक्तहरूलाई म भन्न चाहान्छु स् जब आस्था र विश्वास घृणामा बदलिन्छ र घृणाले विद्रोहको रूप लिन्छ, त्यसबेला अत्याचारीहरूले अकल्पनीय दण्ड भोग्नु पर्छ । त्यो दिन धेरै टाढा छैन ।


