काठमाडौं,साउन २२ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन वैधानिक रहेको जिकिर गर्दै अदालतमा यसको दृढतापूर्वक प्रतिरक्षा गर्ने बताएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीको विधान र प्रक्रियासम्मत रूपमा सम्पन्न विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका हुन् ।
थापाले साउन २४ गते बस्ने केन्द्रिय समितिको बैठकले समसामयिक विषयमा थप निर्णय लिने जानकारी दिए । विशेष महाधिवेशनको सन्दर्भ जोड्दै उनले पार्टीका सार्वभौम सदस्यहरूको अधिकार प्रयोग गरेरै उक्त महाधिवेशन गरिएको स्पष्ट पारे ।
पार्टी विधानभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै उनले आफू विधानको सीमाभित्र रहेर जिम्मेवारी पूरा गर्न सचेत रहेको बताए । विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई पनि समेटेर लैजानु आफ्नो दायित्व भएको उनको भनाइ छ । यसैगरी, नेपालको संविधान र पार्टीको विधानअनुसार आगामी मङ्सिरसम्म महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराउँदै उनले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली काँग्रेसका सन्दर्भमा सर्वोच्च अदालतबाट हालै जारी भएको आदेशप्रति सङ्केत गर्दै उनले भने, ‘अदालतको आदेशबाट केही स्वाभाविक प्रश्नहरू उठेका छन् । हामी केन्द्रिय समितिको बैठकमा यसबारे धैर्यताका साथ छलफल गरेर आधिकारिक धारणा तय गर्नेछौँ । यसमा हतार गर्नुपर्ने आवश्यक छैन । विशेष महाधिवेशनको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र यसअघि सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ । अदालतको प्रक्रियामा सहभागी हुनु हाम्रो कर्तव्य हो । हामीले गरेको वैधानिक कामको हामी गौरवका साथ प्रतिरक्षा गर्नेछौँ । मङ्सिरभित्र महाधिवेशन गर्नु हाम्रो वैधानिक दायित्व र कर्तव्य दुवै हो । म पार्टी सभापतिको हैसियतले विधानको परिधिमा रहेर सबैलाई सहभागी गराउने वातावरण निर्माण गर्न हरसम्भव प्रयास गर्नेछु ।’
थापाले कार्यकर्ताहरूले आफूमाथि राखेको भरोसालाई टुट्न नदिने भन्दै पार्टीलाई परिपक्व ढङ्गले अगाडि बढाउने संकल्प समेत व्यक्त गरे ।–न्युज एजेन्सी नेपाल


