काठमाडौं,साउन २३ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कार्यशैली बदल्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री शाहले शुक्रवार मध्यराति आफू एक्लै परेको गुनासो फेसबुकमार्फत सार्वजनिक गरेपछि एमाले महासचिवले कार्यशैली बदल्न सुझाव दिएका हुन् । यसो गरे एक्लै नपरिनेतर्फ पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् । अन्यथा पूर्णरुपमा असफल हुने पनि पोख्रेलले प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।
पोख्रेलले प्रधानमन्त्रीलाई पाँच वटा सुझाव पनि दिएका छन् । फेसबुकमा मार्फत उनले दिएका सुझाव यस्ता छन् :
प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस् !
यदि तपाईँले:
• आफ्नै चुनावी वाचा र प्रतिबद्धतालाई सम्झनुहुन्छ,
• अपार जनमतको साँचो सम्मान गर्नुहुन्छ,
• संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुहुन्छ,
• प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बन्नुहुन्छ, र
• आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्नुहुन्छ भने... तपाईँले कहिल्यै एक्लो भएको अनुभूति गर्नु पर्दैन!
तर, तपाईँ अहिले जसरी चल्दै हुनुहुन्छ— त्यसले तपाईँलाई एक्लो मात्र होइन, पूर्ण रूपमा असफल बनाउने निश्चित छ।
समय छँदै बेलैमा सचेत र गम्भीर बन्नुहोस्!


