काठमाडौं,साउन २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको अरूले पनि नसक्ने दाबी गरेका छन् ।
बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेताकार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले कडा अभिव्यक्ति दिएका हुन् ।
‘यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौं । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ,’ देउवाले भने ।
देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए। ‘हाम्रो खिलापमा मुद्दा हाल्यो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भने, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो। तै पनि बदमासी गर्यो।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले पटकपटक आफूहरूमाथि अनुसन्धान गरेको उनको भनाइ थियो। ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो। दोस्रो पटक आयो केही छैन भन्यो। उसलाई निकालिदियो। यतिसम्म बदमासीपूर्ण काम गरेको छ,’ देउवाले भने, ‘तर मलाई बदलाको भावना लिनु छैन।’
देउवाले देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए। ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र। मैले मात्रै चाहेर ल्याएको हो?,’ उनले भने, ‘संविधानसभाले ल्याएको हो गणतन्त्र। मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन। नेपाली जनता सबैभन्दा ठूलो हो। जनता मालिक हो। मालिकले जे भन्यो त्यही हुन्छ।’


