काठमाडौं,साउन २८ । रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सामाजिक सञ्जालमार्फत पनि प्रहार गरेका छन् ।
बुधवार लेखा समितिमा चर्को विवाद र आरोप प्रत्यारोप भएपछि सुनारले त्यो विषयलाई सामाजिक सञ्जालमा पनि ल्याएका हुन् । सुनारले आरोपीले बयान दिनुको सट्टा प्रवचन दिएको भन्दै कटाक्ष गरेका छन् । उनले महानिरीक्षक कार्कीले बर्दी लगाएर धम्काएको आरोप लगाएका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा कार्कीलाई सुनारले भ्रष्टाचार गरेको गम्भीर आरोप लागेपछि तत्काल निलम्बनमा राखेर छानबिन गर्नुपर्ने कुरा राखेपछि त्यसको जवाफमा आइजीपी कार्कीले पाषणयुगिन सोच् भएका शासक भनेका थिए ।
कार्कीले आफ्नो मर्यादाको ख्याल नगरी बिना प्रमाणका आधारमा लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । सुनारले लेखा समितिको बैठक नै बहिस्कार गरेर हिँडेपछि त्यहाँ रहेका अन्य दलमात्रै होइन रास्वपाकै सांसदहरुले समेत उनको आलोचना गरेका थिए ।
त्यसको जवाफमा सुनारले अहिले सामाजिक सञ्जालमा जवाफ लेख्दै गम्भीर आरोप लागेको व्यक्तिले बयान दिनुको सट्टा प्रवचन दिएको बताएका हुन् ।
‘म राष्ट्रसेवक (प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु । तर गरिबका छोराछोरी, म्यादी, सिपाही, हवलदार भएका छन्, उनीहरूका जुत्ता, मोजा, कट्टु, रासन खाएको अरबौँको गम्भीर र ठूलो मुद्दा परेको छ, मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन, जुत्ता लगाउने हो खाने हैन’, उनले लेखेका छन् ।
सांसद सुनारलाई आजै रास्वपाका नेता सांसदसहित सभामुखले पनि यस्ता विवादित विषयमा नबोल्न सुझाएका छन् । तर उनले नरोकिने संकेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘१ हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति कति, राज्यको आर्थिक हिसाब–किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौँ । हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ । हामीले तितो बोल्दा भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ, बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ, त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्, हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन ।’
सुनारले बुधवार पनि सामाजिक सञ्जालमा आईजीपी कार्कीले भ्रष्टाचार गरेको दाबी गर्दै स्ट्याटस लेखेका थिए र त्यसलाई उनले विहीवार पनि निरन्तरता दिएका छन् ।


