काठमाडौं,साउन २९ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन शाहको कमजोर बन्दै गएको अवस्थालाई पुराना दलका नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार बनाउन खोजे त्यो महाभूल हुने चेतावनी दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिको कमजोरी देखाएर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु ‘महाभूल’ हुने चेतावनी दिएका हुन्।
भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपाका तत्कालीन नेतृत्वको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई आधार बनाएर रास्वपाको उदय भएको र रवि लामिछाने तथा बालेन शाह नयाँ राजनीतिक अनुहारका रूपमा स्थापित भएको टिप्पणी गरेका छन्।
उनका अनुसार सुरुआती चरणमा रास्वपा, रवि र बालेनले उल्लेख्य सफलता हासिल गरे पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति तथा वर्गीय र सामाजिक आधार निर्माणमा पर्याप्त ध्यान नदिँदा उनीहरूको राजनीतिक यात्रा कमजोर बन्दै गएकोे उनको टिप्पणी छ ।
‘पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो। रवि, बालेनलाई नेता बनाइयो। तत्काल ठूलै सफलता पनि मिल्यो। तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्न तीर ध्यान नदिंदा शिखरबाट ओरालो यात्रा शुरू भएको छ । ’ भट्टराईले लेखेका अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्। बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोधले नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो, न आजकालाई काम लाग्नेछ।’
उनले आफ्नै पार्टी एमालेसहित कांग्रेस र नेकपाका शीर्ष नेताहरूले रास्वपाको ओरालो यात्रा तथा रवि र बालेनको अयोग्यतालाई देखाएर पुरानै गल्ती दोहोर्याइरहेको टिप्पणी पनि गरेका छन्।
भट्टराईले विगतका कमजोरीको समीक्षा नगर्ने, कमजोर हुँदै गएको वर्ग तथा सामाजिक आधारको पुनर्निर्माणमा ध्यान नदिने र पार्टीभित्र नीति, विचार तथा संगठन पुनर्गठनबारे छलफल गर्न अनिच्छुक हुने प्रवृत्तिले पुराना दललाई थप कमजोर बनाउने चेतावनी दिएका छन्।
‘नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत् समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ,’ उनले लेखेका छन्।
भट्टराईले नयाँ राजनीतिक शक्तिको कमजोरीबाट पुराना दलहरूले आत्मसन्तुष्टि लिनुभन्दा आफ्ना कमजोरीको समीक्षा गर्दै संगठन, नीति र सामाजिक आधार पुनर्निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
भट्टराईको स्टाटस:
पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो। रवि, बालेनलाई नेता बनाइयो। तत्काल ठूलै सफलता पनि मिल्यो। तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्न तीर ध्यान नदिंदा शिखरबाट ओरालो यात्रा शुरू भएको छ ।
अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्। बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो न आजकालाई काम लाग्ने छ ।
अर्कोतिर पुराना दलका प्रमुख नेताहरू फेरी त्यही गल्ती दोहोर्याउँदैछन्। रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन्। विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पुनर्निर्माणतिर ध्यान नदिने, नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ।


