काठमाडौं, मंसिर ३ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
दाहालले प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारीलाई कार्यान्वयनमा लैजानुपर्ने बताए। आफू प्रधानमन्त्री हुँदा अघि बढाएका कामलाई वर्तमान प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने अपेक्षा गरेको उनको भनाइ छ । विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई टुंगोमा पुर्याउनुपर्नेमा उनले जोड दिए । आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सहमति हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै त्यसलाई निष्कर्षमा पुर्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने उनले बताए । त्यस्तै विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति र कृषि क्षेत्रको विकासका लागि भएका समझदारीलाई पनि कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
दाहालले वर्तमान सरकारलाई राम्रो काममा आफ्नो पार्टीको समर्थन रहने र गलत काम गरे आलोचना गर्ने स्पष्ट पारे। प्रधानमन्त्री साहले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुरा जनताले मूल्यांकन गरिरहेको उल्लेख गर्दै उनले सरकारलाई सकारात्मक काम गर्न आग्रह गरे।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर छलफल हुनुपर्छ । नेपाल–भारत सम्बन्धमा मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा अघि बढाएका कामहरूलाई पूर्णता दिन म आग्रह गर्दछु । विशेषगरी पञ्चेश्वर परियोजनालाई अन्तिम निष्कर्षमा पुर्याउने, विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति कार्यान्वयन गर्ने र कृषि विकाससम्बन्धी समझदारीहरू अघि बढाउने अपेक्षा गरेको छु । प्रधानमन्त्रीले राम्रो काम गर्नुभयो भने हाम्रो सहयोग रहन्छ, तर राष्ट्रिय हितविपरित काम भएमा हामी आलोचना गर्छौँ । राम्रो काममा हाम्रो साथ र गलत काममा खबरदारी रहन्छ ।’
उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।



