काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रको कुरा सामाजिक सञ्जालमा लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीका नेता कार्यकर्तालाई यस्तो चेतावनी दिएका हुन् ।
पार्टीभित्र छलफलको विषय फेसबुकमा लेखेर विरोधीलाई मौका दिने गतिविधि स्वीकार्य नहुने उनले प्रष्ट पारे । ओलीले भने, ‘हामीले अस्तिको केन्द्रीय कमिटीलाई कटअफ बैठक भनेका छौँ। त्यसभन्दा अगाडि जसले अनुशासनहीन काम गरेको भएता पनि, सामाजिक सञ्जालमा गएको भएता पनि, फेसबुक रङ्गाएको भएता पनि, अनुशासन तोडेको भएता पनि अस्तिको केन्द्रीय कमिटी बैठकको मितिभन्दा अगाडिका कुराहरूलाई क्षमा गरिएको छ। अब त्यही कुरा दोहोरिए स्वीकार्य हुँदैन।’
महाधिवेशनले गरेको निर्णयलाई लिएर पटकपटक एउटै कुरा गरिरहे स्वीकार्य नहुने चेतावनी दिए। उनले भने, ‘महाधिवेशनमा हामी थियौँ होइन र? केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन ? महाधिवेशनको निर्णय सर्लक्क मानेर अर्को महाधिवेशनसम्म जानु परेन? अनि बिचमा जहिले पनि त्यही एकतारे बजाएर र्याइँ–र्याइँ गरिरहने?’
पार्टीभित्रको आन्तरिक केही विषयमा चित्त नबुझेको कमिटीमा राख्न पाइने बताए। ‘कमिटीमा राख्नै पाइएन भन्ने नक्कली गुनासो नगरौँ। कमिटीमा राख्दा कसैले कसैको मुख थुनेको छैन। कसैले आक्रमण गरेको पनि छैन, कसैले केही गरेको पनि छैन। नक्कली कुरा नगरौँ।’ ओलीले भने ।



