काठमाडौं, मंसिर ३ । पूर्वराष्ट्रपति एवम् नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा चुनावमा पराजय अस्थायी भन्दै पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् ।
बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै निराश नहुन आग्रह गरेकी हुन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ । सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गर्दै भण्डारीले भनिन, ‘तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’
गत २१ फागुनको निर्वाचनको नतिजालाई अस्थायी धक्का भनिन् । ‘अहिले हामीले भोगेको धक्का अस्थायी हो,’ बरिष्ठ नेता भण्डारीले भनिन्, ‘त्यसैले निराश भएर निष्कृय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’
विगतका धक्काहरु सम्झिएर यो चुनौतीको सामना गर्ने शक्ति आर्जन गर्न सकिने उनको निष्कर्ष छ । 'सन् १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको अवस्थामा पनि हामीले पलायनताको बाटो रोजेनौँ । बरु आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाउँदै अगाडि बढ्यौँ । हाम्रा महान् नेताहरू मदन–आश्रितको रहस्यमय हत्याबाट सिङ्गो राष्ट्र शोकाकुल बनेको कठिन घडीलाई पनि हामीले शक्तिमा रूपान्तरण गर्यौँ । त्यसपछि पार्टीलाई अझ मजबुत, एकतावद्ध र विस्तारित बनाउन विस्तृत, विस्तारित बनाउन हामी सफल भयौँ ।' उनले भनिन्, गत वर्ष भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्काले नेता तथा कार्यकर्तामा केही निराशा उत्पन्न गरेको हुन सक्दछ । तर यस सन्दर्भमा म के कुरा स्मरण गराउन चाहन्छु भने अनेकौँ हन्डर, ठक्कर र धक्कासँगै हामीले आन्दोलनलाई जोगाएर मात्र राखेनौँ, यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा स्थापित गर्यौं, साथै लोकतान्त्रिक आन्दोलनको निर्णायक हिस्साका रूपमा पार्टीलाई विकास गर्न सफल भयौँ, यो हाम्रो गौरवशाली इतिहास हो । त्यसैले अहिलेको परिस्थितिबाट हतोत्साहित हुनुपर्ने कुनै कारण छैन ।'
गत निर्वाचनको नतिजालाई पनि सच्याउन सकिने उनको विश्वास छ । ‘हारबाट पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ भण्डारीले भनिन् ।



