Sajha Post
सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री पक्राउ

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । 

अलिदोस्तीलाई पछिल्लो पटक भैरहेको प्रदर्शनमा समर्थन गरेको तथा झुट फैलाएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ । अभिनेत्री अलिदोस्तीले हिजाब विरुद्ध भैरहेको प्रदर्शनलाई समर्थन गरी गएको हप्ता इन्स्टाग्राममा हिजाब विनाको आफ्नो तस्बिर राखेकी थिइन् । 

साथै उनले इरान सरकारले मोहसेन शेकरीलाई दिएको मृत्युदण्ड सजायको पनि आलोचना गरेकी थिइन । इरानमा प्रहरीको हिरासतमा महसा अमिनीको ज्यान गएपछि प्रदर्शन भइरहेको छ । 

महिलाको हिजाब विरोधी प्रदर्शनले इरानलाई नयाँ दिशामा डोर्याइरहेको कतिपयले विश्लेषण गरेका छन् । इरानमा अहिले भैरहेको प्रदर्शन सन् १९७९ मा भएको इस्लामिक क्रान्ति यताकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

हिजाब नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीय महसा अमिनीको गएको सेप्टेम्बर १६ मा ज्यान गएको थियो । तर प्रहरीले उनको हृदयघातका कारण ज्यान गएको दाबी गरेको छ । 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update