
काठमाडौं । नेपाल–चीन व्यापारीक तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
विगत आठ वर्ष भन्दा बढी समयदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाका सोमवारदेखि दुईतर्फी आयात निर्यात खुलेको ।
भूकम्पको बहानामा चीनले तातोपानी नाका दुवैतर्फ सञ्चालनमा अवरोध गरिरहेको थियो । भूकम्पपछि तातोपानी नाका करिव चार वर्ष पूर्ण रूपमा ठप्प थियो । सोमवारदेखि आयात निर्यात दुवैतर्फ सञ्चालनमा आएपनि मानव आवतजावत प्रतिबन्ध नै छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले मानव आवतजावत तत्काल खोल्ने सम्भावना नभएको भन्दै खोल्ने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले सोमवार तोतोपानी नाका दुईतर्फ सञ्चालनमा आएसँगै नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको बताए ।
त्यस्तै,नेपाल ट्रक ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले तातोपानी नाका ८ वर्ष १६ दिनमा सञ्चालनमा आउँदा खुशी लागेको बताए । उनले तातोपानी नाका अब पूर्ण रुपमा सञ्चालनमा आउने आशा पनि व्यक्त गरे । उहाँले सरकारले नेपाली सामान निर्यातको लागि कुटनीतिक पहल गर्न आवश्यक रहेकोमा सापकोटाले जोड दिए ।
निर्यात व्यवसायी अनिरुद्र थापाले लामो समयपछि तातोपानी भन्सार नाका दुईतर्फ खुला भएसँगै निरन्तर रुपमा पूर्ण सञ्चालनमा आउने अपेक्षा गरेको बताए ।
गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमवारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो ।