
काठमाडौं । साविक विजेता गुजरात टाईटन्सलाई १५ रनले हराउँदै चेन्नई सुपर किङ्स ईण्डियन प्रिमियर लिग (आईपीएल)को फाईनलमा प्रवेश गरेको छ ।
योसँगै महेन्द्रसिंह धोनीको चेन्नई पाँचौ उपाधिको नजिक पुगेको छ । चेन्नई आईपीएलको फाईनल पुगेको याे दशौं पटक हाे ।
मंगलवार राति घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरी ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको चेन्नईले गुजरातलाई १ सय ५७ रनमा रोक्यो । गुजरातले २० ओभर पुरै खेलेर सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो ।
उसका लागि ओपनर शुभमन गिलले ४२ र आठौं नम्बरमा ब्याटिङ गर्न आएका राशिद खानले आक्रामक ३० रन जोडे पनि जिताउन सकेनन् । राशिदले १६ बलमा तीस रन बनाए । यस्तै दशुना सनाकाले १७, विजय शंकरले १४ र रिद्धिमान शाहले १२ रन बनाए ।
चेन्नईका लागि दीपक चहर, रवीन्द्र जडेजा, मथिसा पथिराना र महेश थिकसानाले समान २ विकेट लिए ।
यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए ।
डेभन कन्वेले ३४ बलमा ४० रन बनाए । अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए । रविन्द्र जडेजा १६ बलमा २ चौकासहित २२ रनमा आउट भए । मोईन अली ४ बलमा १ छक्कासहित ९ रनमा नटआउट रहे ।
गुजरातका मोहित शर्माले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । नुर अहमदले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।
मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।दर्शन नालकंडेको नाममा एक विकेट रह्यो । पराजित गुजरातले अब दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।
बुधबार एलिमनिटेर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । आइपिएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।