काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मालिगाउँ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धमा मुद्दा चलेकाले थापालाई उतै पठाइएको मालिगाउँ प्रहरीले जनाएको छ ।
आपराधिक लाभ तथा विश्वासघातको कसुरमा जाहेरी परेपछि थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 'प्रसाद-२' का निर्माता सुदर्शन बस्नेतको जाहेरीमा निर्देशक थापालाई प्रहरीले पक्राउ गरेको हो ।
निर्देशक थापाले आफ्नो सहमतिबिना फिल्मको वितरण गरेको निर्माता बस्नेतको आरोप छ । उनले कान्तिपुरसँग भने, 'मेरो कम्पनीमा दर्ता छ फिल्म । मेरो मन्जुरीबिना फिल्म वितरण गरेकाले ठगी, आपराधिक लाभ तथा विश्वासघातको कसुरमा जाहेरी दिएको हुँ ।'
निर्देशक थापाले 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु', 'म यस्तो गीत गाउँछु २', 'चंखे शंखे पंखे', 'अझै पनि', 'प्रसाद', 'प्रसाद २', 'सम्हालिन्छ कहिले मन'लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।


