काठमाडौं,साउन १९ । भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षमा निधन भएको छ । अभिनेता यशपाल शर्माले मंगलबार इन्स्टाग्राममार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनको जानकारी दिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
यशपालले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रदीप रावत, हाम्रो ‘गजनी’का देवा र ‘लगान’का अविस्मरणीय कलाकार, भावपूर्ण श्रद्धाञ्जली।’
हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्र उद्योगमा चार दशकभन्दा लामो समय सक्रिय रहेका वरिष्ठ अभिनेता प्रदीप रावतका म्यानेजर सिद्धार्थ तिवारीका अनुसार उनी क्यान्सरबाट पीडित थिए। केही समय सुधार देखिए पनि रोग पुनः बल्झिएपछि उनको अवस्था गम्भीर बनेको थियो।
उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत थिए। केही घण्टाअघि उपचारकै क्रममा उनको निधन भएको हो।
रावतका श्रीमती र छोरा विक्रमादित्य छन्। प्रदीप रावतले चार दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी, तेलुगु, तमिल, नेपालीलगायत विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए।
उनले आफ्नो अभिनय यात्रा टेलिभिजनबाट सुरु गरेका थिए। निर्देशक बी. आर. चोपडाको चर्चित टेलिभिजन श्रृंखला ‘महाभारत’ मा अश्वत्थामाको भूमिका निर्वाह गरेपछि उनी चर्चामा आएका थिए। त्यसपछि उनी चलचित्र क्षेत्रमा प्रवेश गरी सफल चरित्र अभिनेताका रूपमा स्थापित भए।
रावत विशेषगरी खलपात्रका लागि परिचित थिए। ‘लगान’, ‘गजिनी’, ‘साइ’, ‘राउडी राठौर’ लगायतका थुप्रै सफल चलचित्रमा उनले प्रभावशाली अभिनय गरेका थिए।
पर्दामा उनको दमदार उपस्थिति र सशक्त अभिनयका कारण उनी चलचित्र उद्योगमा नकारात्मक भूमिकाका लागि लोकप्रिय छनोट बनेका थिए।
उनले ‘ह्रस्व दीर्घ’बाट नेपाली फिल्मी क्षेत्रमा डेब्यू गरेका थिए। यस्तै, उनले ‘अ बाट आमा’मा पनि सशक्त भूमिका निभाएका थिए। उनको निधनमा नेपाली अभिनेत्रीद्वय विपना थापा र निता ढुंगानाले पनि श्रद्धाञ्जली दिएका छन्।


