काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
लामिछानेलाई गाडीमा राखेर पोखरातर्फ लगिएको छ । उनले प्रहरीलाई अनुरोध गरेपछि गाडीमै राखेर पोखरा लगिएको हो।
उनलाई स्थलमार्गबाट पोखरा लगिएको हुँदा विभिन्न ठाउँमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ।
गल्छीमै प्रदर्शन समेत भएको थियो। त्यहाँ केहीबेर अवरोध भएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पन्छाएर अगाडि बढेको हो।


