काठमाडौं । अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले कोरोना भाइरस चिनीयाँ प्रयोगशालामा तयार गरिएको हुन सक्ने शंका व्यक्त गरेको छ ।
शनिबार प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकाले चीनलाई कोभिड–१९ का लागि जिम्मेवार ठहराइएको छ । डोनाल्ड ट्रम्प नेतृत्वमा आएपछि अमेरिकाले फेरि यो विषयमा चीनलाई दोषी करार गरेको हो ।
सीआईएले भनेको छ, कोरोनाभाइरस जनावरहरूबाट नभई चिनियाँ प्रयोगशालाबाट चुहिएको “अधिक सम्भावना” छ ।
तर, गुप्तचर एजेन्सीले यो निर्णयमा “कम भरोसा” रहेको बताएको छ ।एक सीआईए प्रवक्ताले भनेका छन – उपलब्ध रिपोर्टहरूको आधारमा महामारी प्राकृतिक रूपमा फैलनुको सट्टा “अनुसन्धानको क्रममा फैलिएको” सम्भावना बढी देखियो ।
तर, चीनले पहिलेदेखि नै यस्तो दाबीको विरोध गर्दै आएको छ । यसअघि चीनमाथि यस्तो आरोप लाग्दा कोरोना भाइरल ल्याबबाट नआएको बताएको थियो ।
चीनले अमेरिकी सरकार र पश्चिमी मिडियाले कोरोनाको स्रोतबारे अफवाह फैलाइरहेको बताएको छ ।
ट्रम्प प्रशासनका सीआईए निर्देशक जोन ¥याटक्लिफको आदेशमा सार्वजनिक गरिएको यो प्रतिवेदन बाइडेन प्रशासन र सीआईएका पूर्वनिर्देशक विलियम बन्र्सको आदेशमा तयार पारिएको हो ।
समाचार संस्था एपीको रिपोर्ट अनुसार, यसअघि पनि विभिन्न प्रतिवेदनले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हुनसक्ने शंका व्यक्त गरेका थिए । तर, केही प्रतिवेदनहरूले यो प्राकृतिक रूपमा फैलिएको दाबी गरेका थिए ।


