काठमाडौं। नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। आचार्य ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्द्वी डा शशि थापा पण्डितले २७ मत पाइन्।
महासचिवमा विष्णुकुमार खत्री (विष्णु केसी) निर्विरोध निर्वाचित भए । उपाध्यक्षतर्फ आचार्य समूहकै विजयराज न्यौपाने ४० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी डा. यादवी ढकालले २८ मत पाइन्। कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थीले ४० मत ल्याउँदै विजयी हुँदा उनका प्रतिद्वन्द्वी राजेन्द्रभक्त जोशीले २९ मत प्राप्त गरे।
त्यसैगरी, सचिवमा भानु भट्टराई, प्रकाशकतर्फ केन्द्रीय सदस्यमा केशव पराजुली, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारी निर्विरोध निर्वाचित भए। शिक्षकतर्फको सदस्यमा अनिरुद्र अर्याल निर्विरोध भएका छन्। खुला सदस्यमा क्रान्ति पाण्डे र समन श्रेष्ठ निर्वाचित भए। समन डा। शशि समूहका एक मात्र जित निकाल्ने उम्मेदवार हुन्।
निर्वाचित भएसँगै अध्यक्ष आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाए। 'सम्पूर्ण बालसाहित्यकारहरुको एउटा साझा संस्थाको रुपमा विकास गर्दै लैजान र सातै प्रदेशको समितिलाई मजबुद ढंगले अगाडि बढाउने छु', आचार्यले भने। उनले हरेक वर्ष हुने राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय बनाउनेसमेत बताए। 'राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय सम्मेलनमा स्तरोन्नति गर्ने र अन्तरराष्ट्रिय स्तरका साहित्यकारबाट पेपर प्रस्तुति दिने प्रबन्ध मिलाउने प्रयास गरिनेछ,' उनले भने।
बालसाहित्य समाजका निवर्तमान महासचिव आचार्य नेपाली बालसाहित्यको क्षेत्रमा समसामयिक युवा पुस्ताका एक प्रतिष्ठित बालसाहित्यकार हुन्। आचार्यले बालसाहित्यको क्षेत्रमा सयभन्दा बढी कृति लेखन, सम्पादन र अनुवाद गरिसकेका छन्।
प्युठानको ऐरावती गाउँपालिका– १ स्थायी घर भएका उनी नेपाली बालसाहित्यको क्षेत्रमा ०५८ सालदेखि सक्रिय छन्।
२०४४ साल असोज ८ गते स्थापना भएको नेपाल बाल साहित्य समाज नेपाली बालसाहित्य र सर्जकहरुको अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्दै आएको गैरनाफामूलक संस्था हो।


