२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

होटल श्रमिक हुँदै ६ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे

होटल श्रमिक हुँदै ६ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे

साझा पोष्ट
बुधबार, वैशाख २४ २०८२
  • images
    images
    होटल श्रमिक हुँदै ६ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे

    नारायण अधिकारी-
    चितवन । उच्च शिक्षा अध्ययनका लागि पोखरा पुगेका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ।


    images

    पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्नेक्रममा २०४५ सालमा होटलबाट काम सुरु गरेका पाण्डे स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन्।

    पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गरेका पाण्डे अहिले छ वटा होटलको मालिक बनी सबैको प्रेरणाका स्रोत बनेका छन्। पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढ्नुभएका पर्यटन व्यवसायी पाण्डेले अहिले यस क्षेत्रमा धेरै जनालाई रोजगारी दिइरहेका छन्।

    विसं २०२२ मा जन्मिएका पाण्डेले अर्घाखाँचीस्थित स्थानीय विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) सम्मको अध्ययन गरे। उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुगेका उनले विज्ञानमा स्नातकसम्मको अध्ययन गरे।

    विद्यार्थीकालमा होटलमा तीन वर्ष काम गर्दाको अनुभवले उनी आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित बताउँछन्। सुरुमा एक लाख ५० हजार लिएर पोखरामा भाडामा होटल सञ्चालन गर्न थालेका उनले विभिन्न आरोहअवरोहका बीच चार वटा होटल चलाए। कहिले कमाइ गरे त कहिले गुमाए पनि।

    उनले भने, “होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुपर्यो । पछिल्लो होटलले राम्रै कमाइ ग¥यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो।”

    भाडामा होटल चलाउँदै आएका पाण्डेले २०६२ सालमा केही नगद र बैंक ऋण गरेर पोखराको लेकसाइडमा होटल ल्याण्डमार्क किजे। जम्मा एक करोड ५० लाखमा किनेको २३ कोठे उक्त होटललाई विस्तार गर्दै अहिले १०० कोठाको चार तारे होटलमा स्तरोन्नति गरिएको छ।

    होटल व्यवसायतर्फको उनकाे यात्रा निरन्तर अघि बढिरह्यो, यसैक्रममा पर्यटकीयस्थल चितवनको सौराहामा पनि २०६७ सालमा जग्गा किनेर होटल निर्माण गरी आफ्नो व्यवसायलाई थप विस्तार गरे। सौराहामा २०७१ सालदेखि ७५ कोठाको ल्याण्डमार्क होटल सञ्चालन गर्दै आएका पाण्डेको अहिले काठमाडौँ, दरबारमार्गमा पनि ल्याण्डमार्क होटल सञ्चालनमा छ।

    क्षेत्रीय होटल सङ्घ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया पाण्डे आफैँ साहु र कामदारको भूमिकामा रमाउन सकेकाले  सफल भएको बताउँछन्।

     “अहिले पनि उहाँको सिङ्गो परिवार तनमनका साथ काममा खटेकै देखिन्छ, इमानका साथ निरन्तर खटे सफल भइन्छ भन्ने यथार्थलाई कर्मले प्रमाणित गर्नुभएको छ।” उनले भने । 

    निरन्तरको सङ्घर्षका कारण पाण्डे सफल व्यवसायी बनेकाे र एउटै बाबुका छोरा–बुहारी, नाति–नातिना सबै मिलेर पेसाप्रति समर्पित हुनु उदाहरणीय काम भएको उपाध्यक्ष थपलिया बताउँछन्।

    यसैगरी गत वर्षबाट भैरहवाको एक होटलमा उनले व्यवस्थापन हेर्दै आएका छन्। यस्तै यसै महिनाबाट भरतपुरको होटल रोयल सेञ्चुरीलाई भाडामा लिएर नारायणी ल्याण्डमार्कको नामबाट सुरु गरेका छन् भने तनहुँको देवघाटमा पनि अर्काे होटल भाडामा लिएर ल्याण्डमार्क फार्म हाउस नामबाट सञ्चालन गरेका छन्।

    वीरगञ्ज, जनकपुर र नगरकोटमा पनि सकभर होटल सञ्चालन गर्ने त्यो सम्भव नभए व्यवस्थापन हेर्ने गरी छलफल अघि बढिरहेको उनले बताए।

    पर्यटन व्यवसायी पाण्डेले सञ्चालन गरेका होटलहरुमा अहिले ३५० कोठा क्षमता छ भने झण्डै ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

    क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्षसमेत रहेका पाण्डे यसअघि सङ्घको उपाध्यक्ष थिए। उनी ‘नेपाल टुर एण्ड ट्राभल’ गण्डकी प्रदेशको अध्यक्ष भइसकेका छन्।

    परिवारका सदस्यहरूलाई सँगै लिएर यस क्षेत्रमा होमिएका पाण्डेका तीन दाजुभाइ होटल व्यवसायमा सँगै छन्। त्यसो त तीन दाजुभाइका तीन छोरा पनि प्रत्यक्षरुपमा यही व्यवसायमा जोडिएका छन्।

    उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको पर्यटन व्यवसायको प्रवद्र्धन, रोजगारी सिर्जना र समाज सेवाका क्षेत्रमा पर्यटन व्यवसायी पाण्डेको अतुलनीय योगदान रहेको बताए।

    स्थानीय होटल व्यवसायीका अनुसार गाउँको सामान्य परिवारमा जन्मेका पाण्डे दृढ इच्छाशक्ति भएका, सदैव सकारात्मक सोच राख्ने, श्रमलाई सम्मान गर्ने, स्वप्नद्रष्टा एवं कर्मशील पर्यटन व्यवसायी छन्। मुलुकको पर्यटन व्यवसायमा समर्पित पाण्डेको पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान रहको होटल सङ्घ सौराहाले जनाएको छ।

    परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म, दृढ इच्छाशक्ति, व्यावसायिक घरानामा जन्म नभए पनि अनुभव बटुल्दै निरन्तरको सङ्घर्षबाट पाण्डे सफल व्यवसायीका रुपमा स्थापित भएका छन्।

    होटल व्यवसायमा उतारचढाव आइरहने र निष्ठाका साथ लागि रहे सफल भइने पाण्डे बताउँछन्।उनले भने, “व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ ।” नेपालमा केही हुँदैन, विदेशै जानुपर्छ भन्नेहरूका लागि अर्घाखाँचीको सामान्य परिवारमा जन्मेका होटल तथा पर्यटन व्यवसायी पाण्डे उदाहरणीय पात्र हुन् ।-रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार