२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी

कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी

साझा पोष्ट
आइतबार, साउन २४ २०८३
  • images
    images
    कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी

    काठमाडौं,साउन २४ । सङ्घीय राजधानी काठमाडौंलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले तिब्रता पाएको छ । 


    images


    राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने कार्यका लागि कान्ति राजमार्ग सडक योजनाले तीन खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । यस राजमार्गको कुल लम्बाई ८० किलोमिटर रहेको छ । हेटौँडाको बुद्ध चोकदेखि ललितपुरको एकान्तकुनासम्म फैलिएको यस सडकको मकवानपुर खण्डमा ५० किलोमिटर र ललितपुर खण्डमा ३० किलोमिटर पर्दछ । योजनाका इन्जिनियर उपेन्द्र महरानका अनुसार हाल ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको २१ किलोमिटर खण्डको स्तरोन्नति कार्य धमाधम भइरहेको छ । 


    लेले–बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि २०८२ जेठ २१ गते ठेक्का सम्झौता भएको थियो । इन्जिनियर महारानले हालसम्म यस खण्डको भौतिक प्रगति करिव ५० प्रतिशत पुगेको जानकारी दिनुभयो । यसअघिको अभिलेखमा ४ किलोमिटर मात्र कालोपत्रे गर्ने उल्लेख भएपनि हाल बाढी–पहिरो नियन्त्रणसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम भइरहेको योजनाले जनाएको छ । बढी भिरालो र पानी जम्ने (वाटर लगिङ) क्षेत्रहरूमा रिजिड पेभमेन्ट (सिमेन्ट कङ्क्रिट) र बाँकी भागमा अस्फाल्ट कालोपत्रे गर्ने योजना  छ ।


    उनले भने, ‘सम्झौता अनुसार तोकिएको माइलस्टोन पछ्याउँदै काम भइरहेको छ । अहिले मुख्य रूपमा स्ट्रक्चर (संरचना) निर्माणको काम भइरहेको छ । दुई लेन नपुगेका ठाउँमा सडक फराकिलो बनाउने र मोडहरू सुधार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।’


    निर्माणको जिम्मा पाएको कन्काई–ब्राइट मल्टि–दिव्यज्योति जेभीका सञ्चालक राजकुमार बुढाथोकीले विपद्जन्य योजना भएकाले जोखिमयुक्त क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । हाल सडक खण्डमा प्लम वाल, ग्याबिन जाली लगाउने र कटिङ गर्ने कार्य भइरहेको छ । आउने वर्षमा रोड सेफ्टी लगायतका काममा लागेको बताए । उनले वर्षैपिच्छे ठूलो पहिरो आएर गाडीहरु रोकिरहने समस्या रहेको बताए । सबैकुरा सहज भएको अवस्थामा भुक्तानी, निर्माणजन्य कुराहरु र बिटुमिन लगायतका सामग्री सबै आवश्यक जति पाइए र सरकारले निर्माण कार्यको वातावरण बनाए समयमै काम सकिने जिकिर गरे । 


    उनले भने, ‘अहिले हामी ६३ किलोमिटर चेनेजमा काम गरिरहेका छौँ । यस खण्डमा रहेका छपेली र टाकुरचे पहिरो मुख्य चुनौतीका रूपमा छन् ।’


    वर्षायाममा यी क्षेत्रमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेकाले यस पटक पहिरो नियन्त्रणका लागि विशेष कार्य भइरहेको उनको भनाइ छ । निर्माण व्यवसायीले आगामी वर्षभित्र रिजिड पेभमेन्ट, ब्ल्याक टप (कालोपत्रे) र सडक सुरक्षाका लागि बायो–इन्जिनियरिङका कामहरू सक्ने लक्ष्य राखेको छ ।

    २०८२ जेठ २१ गतेसम्मको समयसीमा रहेको यस आयोजनामा कुनै अवरोध नभए निर्धारित समयमै काम सम्पन्न हुने निर्माण कम्पनीको दाबी छ । निर्माण व्यवसायीले राज्यका तर्फबाट समयमै भुक्तानी, बिटुमिन तथा इन्धनको सहज आपूर्ति र मूल्य वृद्धिको सम्बोधन भएमा काम गर्न थप सहज हुने उल्लेख गरेका छन् । राजधानी जोड्ने यो वैकल्पिक मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं र हेटौँडाबीचको यात्रा सहज र छोटो हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार