काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा औपचारिक छलफल नभएको र सरकार बन्न अझै १० दिन लाग्ने बताएको छ ।
पार्टी कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता नभएको बताए ।
समानुपातिक सांसदहरु टुंग्याएर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेपछि औपचारिक छलफल हुने र समानुपातिक नाम आज बुझाउने उनले जानकारी दिए ।
‘अनौपचारिक कुराकानीहरु भएका हुन सक्छन्, तर पार्टीको तहमा भावि मन्त्रीपरिषदलाई लिएर कुनै पनि औपचारिक छलफल भएको छैन । सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन अन्दाजी १० दिन जति लाग्न सक्छ ।’ झाले भने ।
झाले आफू दोहोरिने सांसदमध्ये एक भएकाले केही अपेक्षा भए पनि कुनै मन्त्रालयगत दाबी नराखेको बताए ।
उनले भने, ‘रास्वपाको दोहोरिने सांसदमध्ये पर्दैगर्दा राजनीतिकरुपमा केही अपेक्षा स्वाभाविक होला, तर मैले कुनै किसिमको मन्त्रालयगत दावी राख्नु राजनीतिकरुपमा र व्यवहारिकरुपमा उचित हुने सोचेको छैन । अहिले मेरो कामना भनेको नेताहरुको स्वास्थ्यलाभ चाँडै होस भन्ने हो । प्रक्रियाका कुराहरु चाँडै टुंग्याउन सकौं । आधारभूत प्रक्रिया चाँडै टुंग्याएर अघि बढोस भन्ने हो । पाउने मन्त्रालय र जिम्मेवारीहरु त्यसपछिका कुराहरु हुन् ।’


