काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनादेशले चाहेमा प्रादेशिक संरचना हटाउन आफू तयार रहेको बताएका छन् ।
सुनसरीको इटहरीमा नयन मिडिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले संविधान संशोधन गरेर हटाए आफूलाईम मान्य भएको बताएका हुन् । उनले हालै सम्पन्न निर्वाचनपछिको नयाँ राजनीतिक परिस्थिति र जनताको चाहनालाई आत्मसात गर्नुपर्ने उनले बताए ।
निर्वाचनले दिएको नयाँ जनादेशप्रति सम्मान र आशा व्यक्त गरे । ‘म आफैं प्रदेशको मुख्यमन्त्री भए पनि, यदि नयाँ जनादेशले संविधान संशोधनका माध्यमबाट यो प्रादेशिक संरचनालाई उपयुक्त ठान्दैन र हटाउन चाहन्छ भने म त्यसलाई स्वीकार्न पूर्ण रूपमा तयार छु,’ उनले भने ।
उनले जनताले निर्वाचनमार्फत दिएको सन्देशलाई राजनीतिक दल र नेताहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए । देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासका लागि नयाँ ढोका खुलेको उल्लेख गर्दै कार्कीले नयाँ आउँदै गरेका राजनीतिक शक्तिहरूलाई सफल कार्यकालको शुभकामना समेत दिए ।


