काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ ले पार्टीमा विवाद बढ्दै गएपछि औपचारिक र अनौपचारिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पार्टीमा देखिएको पछिल्लो किचलो प्रति असन्तुष्टि जनाउँदै यस्तो घोषणा गरेका हुन् ।
‘यो संवेदनशील जटिलतम चुनौतीपूर्ण परिस्थितिमा सिंगो नेपाली कांग्रेस एकजुटताका साथ एकमुष्ट भएर नउभिदाँसम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयम्ले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु ।’ महामन्त्री शाहले लेखेका छन् ।
महामन्त्री शाहले पार्टी विभाजन भए दलगत राजनीतिभन्दा टाढा नै बस्न सक्ने संकेत पनि गरेका छन् । ‘यदि, दुर्भाग्यवश पार्टी यसैबीच विभाजन तर्फ जान्छ भने त म जस्ता तमाम राष्ट्रियता लोकतन्त्र र समाजवादप्रति आस्थावान एवं चारतारे झण्डामुनी अन्धविश्वासी भइ लागेका साथीहरूको संगठनप्रतिको निष्ठा मर्म एवं भावनामाथि निर्मम तरिकाले ठूलो आघात पुग्ने निश्चित छ,’ उनले भनेका छन् ।


