काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा नेतृत्व नछाड्ने बताएका छन् । सचिवालय बैठकमा बोल्दै ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने प्रष्ट जवाफ दिएका हुन् ।
ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेलसहित नेताहरूले चुनावी परिणामलगायतका विषयलाई लिएर पार्टी पुनर्गठन गर्नुपर्ने र नेतृत्व छोड्नुपर्ने माग गरेपछि ओलीले आफ्नो अडान राखेका हुन ।
‘मलाई कसैले सम्झाउनै पर्दैन । किन सम्झाउनु, कसले सम्झाएको ? नसम्झाउनुस् मलाई।,’ ओलीले बैठकमा भने, ‘यो पद मैले त्यसै लिएको होइन, बकाइदा चुनाव जितेर दिइएको हो।’

एमालेलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको भन्दै कसैले सम्झाएकै भरमा आफू मान्ने अवस्थामा नरहेको ओलीले बताए ।
'पार्टीलाई फेरि पुरानो अवस्था ल्याउँछु। यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ। तपाईंहरू सम्झाउनतिर लाग्दै नलाग्नुस्,’ उनले भने । तपाईंहरूले धेरै जोड नगर्नुस्, मैले छोड्दिनँ ।’
नेताहरूले पार्टी पुनर्गठन र मार्गप्रशस्तको आवाज उठाएपछि ओली आक्रामक रुपमा प्रस्तुत भएका एक पदाधिकारीले जानकारी दिए । पार्टीभित्र भइरहेका गतिविधि आफूले नियाली रहेको भन्दै ओलीले नेताहरुलाई चेतावनी पनि दिए ।
ओली सचिवालयमै अल्पमतमा परेका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा आफ्नै प्यानलबाट जितेर आएका पदाधिकारीसमेत विरुद्धमा उभिएपछि ओली अल्पमतमा परेका हुन । महासचिव शंकर पोखरेल, उपमहासचिव र सचिवहरुसमेत ओलीको चाहना विपरित पार्टी पूनर्गगठन गर्नुपर्ने पक्षमा उभिएका छन् ।
महासचिव शंकर पोखरेलले कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिन अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । ‘अब यथास्थितिबाट पार्टी चल्दैन ’, बैठकमा महासचिव शंकर पोखरेलले भने । आईतवार बस्ने बैठकमा चार जना सचिवले बोल्नेछन् । सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीले धारणा राख्न बाँकी रहेको नेताहरूले बताएका छन्।


