२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्वर्णिम वाग्लेले संघीय शासन प्रणालीमाथि आक्रमण गर्दै प्रस्ताव ल्याएको प्रतिनिधिको आरोप

स्वर्णिम वाग्लेले संघीय शासन प्रणालीमाथि आक्रमण गर्दै प्रस्ताव ल्याएको प्रतिनिधिको आरोप

साझा पोष्ट
बुधबार, असार १० २०८३
  • images
    images
    स्वर्णिम वाग्लेले संघीय शासन प्रणालीमाथि आक्रमण गर्दै प्रस्ताव ल्याएको  प्रतिनिधिको आरोप

    चितवन ।  चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मङ्गलवार उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावप्रति प्रतिनिधिहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।


    images

    उपसभापति वाग्लेले प्रस्तुत गरेको पार्टीको अर्थ राजनीतिक प्रस्तावमाथि प्रतिनिधिहरुबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा प्रस्तुत अर्थ–राजनीतिक दस्ताबेजमाथि पर्याप्त छलफल नभएको बताए । उनले संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाउने खालको प्रस्ताव आएको भन्दै केही प्रदेशका नागरिकले त्यसलाई स्वीकार गर्न नसकिने समेत बताए ।

    उनले उक्त अर्थ राजनीतिक प्रस्तावले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको हितविपरित रहेको आरोप पनि लगाए । ‘पार्टी उपसभापतिज्यूले बन्दसत्रमा प्रस्तुत गर्नुभएको अर्थ राजनीतिक दस्ताबेज कुनैपनि समूहमा छलफल नगराईकन, प्रतिनिधिहरूको बीचमा कुनैपनि किसिमको बहस भएन, गरिएको छैन । त्यो पनि समयको सीमाको कारण ठिकै छ भन्नेकुरा भयो । तर अर्थराजनीकि प्रस्ताव कस्तो आयो भने हाम्रो संघीय शासन प्रणालीमाथि नै अट्याक गर्नेगरी उक्त प्रस्ताव आएको छ । उक्त प्रस्ताव सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका जनताले स्विकार्छन् जस्तो मलाई लाग्दैन’ उनले भने ।

    प्रतिनिधिहरूको संख्या अपेक्षाभन्दा बढी भएकाले महाधिवेशनको प्रक्रिया अगाडि बढ्न नसकेको महाधिवेशन प्रतिनिधि धर्मराज ताम्राकारले बताए । उनले महाधिवेशनको कार्यतालिका व्यवस्थापनमा पार्टी नेतृत्व चुकेको कारण महाधिवेशन प्रतिनिधिलाई समेत गाह्रो हुने अवस्था आएको बताए ।

    उनले भने ‘निर्वाचन हिजो नै हुनुपर्ने हो खासमा । तर प्रतिनिधिको संख्या सोचेभन्दा बढी आइदिएको कारणले अहिलेसम्म कुनैपनि निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । हामी टाढाबाट आएका प्रतिनिधिलाई व्यक्तिगत रूपमा केही समस्या पनि छन् । तर समग्रमा ठिकै छ ।’

    महाधिवेशन प्रतिनिधि दयाराम अधिकारीले पार्टीले छोटो समयमा लिएको सङ्गठनात्मक स्वरूपजस्तो महाधिवेशन प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए । उनले पदाधिकारीमा सहमतिको प्रयास भइरहेकाले निर्वाचन प्रक्रिया लम्बिएको हुनसक्ने आशंका व्यक्त गरे ।

    ‘यो चार पाँच वर्षको अवधिमा पार्टी विशाल भइसकेको छ । तर महाधिवेशनको व्यवस्थापनको सम्बन्धमा केही कमजोरीहरू देखिएका छन् । महाधिवेशन प्रतिनिधिको समस्या बुझेर जसरी व्यवस्थापन हुनुपर्थ्यो, त्यस्तो हुन सकेको छैन’ उनले भने ।

    महाधिवेशन प्रतिनिधि प्रेमा थारुले महाधिवेशन समयमै सम्पन्न हुन नसकेको र प्रतिनिधि तथा उम्मेदवारको अन्तिम सूचीसमेत सार्वजनिक नभएको भन्दै व्यवस्थापन पक्ष कमजोर देखिएको बताइन् ।

    उनले समयमै निर्वाचन प्रक्रिया सुरु हुन नसकेको विषयमा पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने बताइन् । उनले भनिन् ‘हिजो नै सकिनुपर्ने महाधिवेशन आजसम्म सकिएको छैन । प्रतिनिधि र उम्मेदवारको अन्तिम सूची समेत आइसकेको छैन । व्यवस्थापनको सम्बन्धमा केही फितलो व्यवस्थापन भएकै हो ।’

    महाधिवेशन स्थलमा भेटिएका अधिकांश महाधिवेशन प्रतिनिधिहरूले महाधिवेशनको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने धारणा राखेका छन् । केहीले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रस्तावमाथि गम्भीर प्रश्न समेत गरिन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार