२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गर्दै रविले भने: उहाँहरू आ–आफ्नो काम गर्दै हुनुहुन्छ

प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गर्दै रविले भने: उहाँहरू आ–आफ्नो काम गर्दै हुनुहुन्छ

साझा पोष्ट
बुधबार, साउन १३ २०८३
  • images
    images
    प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गर्दै रविले भने: उहाँहरू आ–आफ्नो काम गर्दै हुनुहुन्छ

    काठमाडौं,साउन १३ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको बताएका छन् ।


    images

    बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । सभापति लामिछानेले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गरे ।

    आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै उनले यसमा सुरक्षा निकाय जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड दिए । घटनाको सत्य तथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै उनले कुनै पनि अफवाह वा ‘कन्स्पिरेसी’ को पछि नलाग्न आग्रह गरे ।

    विगतमा कुन परिस्थिति र विषयलाई लिएर आन्दोलन भएको थियो र अहिलेको अवस्था के हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले वर्तमान घटनाक्रमको समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

    प्रधानमन्त्री र गृहमन्त्रीले आ–आफ्नो तर्फबाट कार्यसम्पादन गरिरहेको बताउँदै उनले राजनीतिक दलहरूले एक अर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि संयमता अपनाउनुपर्ने बताए ।

    उनले भने, ‘विगतमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्ध लगायतका विषयमा आन्दोलन भएका थिए, तर आजको परिस्थिति हिजोको जस्तो होइन । अहिले विभिन्न भ्रम र अफवाहहरू फैलिएका छन् । हामीले जिम्मेवार प्रशासनलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्नुपर्छ । अनुसन्धानको निष्कर्ष नआएसम्म कुनै पनि विषयमा टिप्पणी गर्नु हतारो हुनेछ । अहिलेको प्राथमिकता भनेको शान्ति सुव्यवस्था र सद्भाव कायम गर्ने हो । कसले गल्ती गर्‍यो वा कसले कति बेला के बोल्यो भन्ने जस्ता ससाना विषयमा अल्झिने समय यो होइन ।’

    उनले सामाजिक सद्भाव नभड्कियोस् भन्नेतर्फ सञ्चारकर्मीहरूलाई समेत संवेदनशील हुन र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न आग्रह गरे ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार