काठमाडौं,असोज २४। पहिरोले काठमाडौं आवतजावत गर्ने तीनवटै मुख्य राजमार्ग अवरुद्ध भएका छन्। पृथ्वी, बीपी र कान्ति लोकपथ पहिरोले अवरुद्ध भएका हुन्। दसैँको मुखमा राजमार्ग बन्द हुँदा नागरिकले दुःख पाएका छन् ।
धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडकमा पहिरो जाँदा शुक्रबार साँझदेखि नै पृथ्वी राजमार्ग अवरुद्ध छ। त्रिशूलीले सडक कटान गर्दा यो खण्डमा गाडी चलाउनै नमिल्ने गरी सडक चिराचिरा परेको छ।
हिजो देखि नै यो सडकमा आवतजावत पूर्णरुपमा बन्द गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खस्दा शनिबार बिहानदेखि कान्तिलोकपथ पनि अवरुद्ध भएको छ।
त्यस्तै काभ्रेको रोसी गाउँपालिका–९ पिन्थलीबेँसीमा गएरातिको वर्षाले लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी छ।
त्यसैगरी गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
मुख्य राजमार्गहरु बाढी पहिरोले बन्द हुँदा दसैँ मनाउन काठमाडौँबाट घर हिँडेका हजारौँ यात्रु बिचबाटोमै अलपत्र परेका छन्। राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ।



