Sajha Post
महिलालाई मात्र उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने माग सर्वोच्चद्वारा दरपिठ

काठमाडौं । सर्वोच्च अदालतले महिलालाई मात्र उपराष्ट्रपतिमा उम्मेदवार बनाउनुपर्ने माग गरिएको रिटलाई दरपिठ गरेको छ। 

राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार सर्वोच्चमा अदालतमा रिट पेस गरेकी थिइन्। सो रिटको अध्ययनपछि रजिस्ट्रारले दर्ता नहुने आदेश गरेका हुन्। 

मंगलबार सर्वोच्चले संविधानमा महिला नै हुनुपर्ने भनी तोकेर नभनेको अवस्था भएकाले दर्ता गरेर सुनुवाइ गर्नुपर्ने संवैधानिक आधार नदेखिएको भन्दै दरपिठ गरेको हो। 

आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित केही दलले महिला उम्मेदवार हुनुपर्ने दावीसहित निर्वाचन कार्यालयमा उजुरी पनि गरेका थिए। तर निर्वाचन कार्यालयले उजुरी खारेज गर्दै उम्मेदवारी सदर गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update