काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिवार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि १० रनको रोमाञ्चक जित निकालेको छ । रनको वर्षा भएको खेमा मुम्बई जित नजिक पुगेर पनि पराजित भयो ।
दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ३२ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए ।
यस्तै कप्तान हार्दिक पन्ड्याले २४ बलमा ४६ रन जोडे । टिम डेभिडले ३७ रन बनाए भने सूर्यकुमार यादवले २६ रन जोडे । ईशान किशनले २० रन बनाए ।
दिल्लीका लागि मुकेश कुमार र राशिख सलामले समान ३-३ विकेट लिए भने खलिल अहमदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले अष्ट्रेलियन खेलाडी जेक फ्रेज–मक्गर्कको विष्फोटक इनिङको मद्दतमा ४ विकेटको क्षतिमा २५७ रन जोड्यो । प्लेयर अफ द म्याच फ्रेजर–मक्गर्कले २७ बलमा ११ चौका र ७ छक्का सहित ८४ रन बनाए ।
यस्तै ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन जोडे भने साई होपले १७ बलमा ४१ रन बनाए । अभिषेक पोरेलले ३६ तथा ऋषभ पन्तले २९ रन जोडे ।
मुम्बईका लागि लुक वुड, जस्पृत बुम्राह, पियुस चावला र मोहम्मद नवीले समान १–१ विकेट लिए ।
जितपछि दिल्ली १० खेलमा १० अंक सहित पाँचौं स्थानमा उक्लेको छ भने मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।