काठमाडौं । २०८१ को पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’ले पाएको छ ।
०६३ सालदेखि उत्कृष्ट नेपाली साहित्यकृतिहरूलाई सम्मान गर्दै आएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०३ पुस्तकबाट छालबाटोलाई छनौट गरेको हो ।
‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ ।
यसैगरी पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रदान गरिनेछ । भाषा, साहित्य, संस्कृति र कलामा जीवनभरको योगदान दिएका शर्माका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन्, जसमा अन्वेषण, समालोचना, जीवनी, निबन्ध, बालसाहित्य लगायतका विधा समेटिएका छन् ।
पद्मश्री गौरव पुरस्कार भने प्रा. डा. अभि सुवेदीलाई प्रदान गरिने भएको छ । नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा लेखन गर्ने सुवेदी निबन्धकार, समालोचक, भाषाविद्, अनुवादक तथा कवि हुन् । उनका झण्डै तीन दर्जन कृतिहरू प्रकाशित छन् ।
यी सबै पुरस्कारको राशी जनही अक्षरेपी तीन लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन औपचारिक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीव लामिछानेले जानकारी दिए ।


