म दौडमा सामेल छु
मैले जित्नु छ जिन्दगीको दौड
कहाँ पुगी अन्त्य हुन्छ थाहा छैन दौड ?
मलाई दौड हराउनलाई छलकपट गरे पनि ?
म हार्न तयार छैन तिमीसंग दौड
बाटो खुल्ला राख या नराख
म आउनेछु कलम बोकी
भुइँमान्छेका कथा लेख्न ।
मान्छेहरु छटपटाउँछन भोकले सधै किन ?
मान्छेहरु रोइरहन्छन शोकले सधै किन ?
मान्छेहरु तड्पिरहन्छन रोगले सधै किन ?
आँखाबाट वर्षा जस्तै बगिरहेछ आँसु
पुछि दिने कोही होला या नहोला
तिम्रो दुःख मलाई दिई
पीर विसाउ चौतारीमा
दुःख सुख साटी बसौं
अगेनाको डीलमा बसी ।
म पनि तिमी जस्तै पीडा बोकी बाँचेको छु
भित्र सधै रुन्छ मन बाहिर मुर्दा हाँसो हासेको छु
तिमी रुँदा धरती रुन्छ
तिमी हाँसे हाँस्छ
मेरो दौडमा तिमी पनि सामेल भए हुन्छ ।
छोराछोरी भान्टाङ्भुन्टुङ्
स्वास्नी दमको रोगी
उपचार गराउने औकात छैन
भाग्य खोटो भन्छन साहुजी
भाग्य लेख्छ कस्ले ?
भाग्य हुन्छ कहाँ ?
भाग्य वादमा अल्झिएर
दास बन्नु छैन हामी
श्रम गर्ने हामीहरु
भोकै पर्छौ सधै किन ?
दौड हो जित हार पक्कै होला
जिते लाख हुछ
हारे सय होला
तिमी मलाई न दपेट
तिम्रो प्रताडना खप्ने किन ?
मौका आउँछ, पर्खदैन
प्रतिगमन विरुद्धमा धावा बोले हुन्छ ।
दौड यदि हार्यौं भने
जीवन वर्वाद हुन्छ
दौड जित्नै पर्छ
दौड जित्न दौड धुप गरौं
जब तिमी निशानीमा पुग्छौ
तब मात्रै तिमी हामी
उन्मुक्तिका गीत गाई
जीवन जिउँन सक्छौं ।


