पोखरा । वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता संग्रह ‘मायाको भूगोल’ लोकार्पण गरिएको छ।
हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको आयोजनामा शनिबार पोखरामा भएको कार्यक्रममा साहित्यकारहरुद्वारा सामूहिक रुपमा उक्त संग्रहको लोकार्पण गरिएको हो । समारोहमा वरिष्ठ साहित्यकार काजी रोशनलाई ‘हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२’ द्वारा सम्मान गरियो ।
काजी रोशनलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर सम्मान गरीएको छ । ५ दशकदेखि निरन्तर साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशील बागलुङका वरिष्ठ साहित्यकार काजी रोशनका २ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
सम्मानित व्यक्तित्व काजी रोशनले सष्टाको जीवितै अवस्थामा सम्मान गर्नुपर्नेमा जोड दिँदै सम्मानप्रति आभार व्यक्त गरे। पुरस्कारबाट प्राप्त रकम उनले बागलुङमै पुरस्कार स्थापना गर्न कोष खडा गर्ने घोषणासमेत गरे ।
‘मायाको भूगोल’ कृतिका स्रष्टा हरिदेवी कोइरालाले आफू सानै उमेरदेखि साहित्य क्षेत्रमा लागेको र धैरैको हौसलाबाट नै यस क्षेत्रमा अगाडि बढ्न सहजता मिलेको बताइन् ।
समाजमा आमा दिदीबहिनीले भोग्नुपरेका दुःख, कष्ट र वेदना गीतका माध्यमबाट प्रस्तुत गर्ने गरेको उनको भनाई थियो ।हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा समीक्षक प्राडा। जगन्नाथ रेग्मी, साहित्यकार असफल गौतम, लोकगायिका मनकुमारी थापा, शान्ति गुरुङ, साहित्यकार देवेन्द्र केसी, दुर्गाबहादुर शाह, भीम रानाभाट, हनिफ मियाँ, सुरज पौडेल लगायतले धारणा राखेका थिए ।


