काठमाडौं । लेखिका सिर्जु शाहको उपन्यास ‘बैकनी’ राजधानीमा सार्वजनिक गरिएको छ। आइतबार पर्यटन बोर्डमा शाहको कृति वरिष्ठ कथाकार कृष्ण धरावासीले लोकार्पण गरेका हुन्।
पुस्तक लोकार्पण गर्दै कथाकार धरावासीले भने, ‘कर्णालीकै महिलाले कर्णालीको बारेमा लेखेको यो कृति निकै वजरदार, निकै परिपक्क लाग्यो। मन छोयो।’ उपन्यासकार शाहले कर्णालीका कथा निकै मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका कारण सबैको मन छुने विश्वास उनले गरे।
उपन्यास ‘बैकिनी’मा कर्णालीका महिलाले सहनुपरेको पीडा, छाउपडी, काला पहाड जानुपर्ने बाध्यतालगायत विषयहरू सुन्दर ढंगले उतारिएको बताइएकाे छ । शिक्षण पेसामा आबद्ध दैलेखकी उपन्यासकार शाहको यो पहिलो कृतिलाई ‘अक्षर आँगन प्रकाशन’ले बजारमा ल्याएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा साहित्यकार तथा राजनीतिकर्मी रवीन्द्र मिश्रको उपस्थिति थियो। आख्यानकार उमा सुवेदी, जुम्लाका सांसद ज्ञानेन्द्र शाहीलगायतको पनि उपस्थिति थियो। पत्रकार टीकाराम यात्रीले विमोचन कार्यक्रमको सहजीकरण गरेका थिए।


