काठमाडौं । वामपन्थी नेता मोहनचन्द्र अधिकारीको जीवनीमा आधारित पुस्तक जगेडा जीवन सार्वजनिक भएको छ । ‘नेपाली नेल्सन मण्डेला’ का उपनामले परिचित अधिकारीको पुस्तक काठमाडौंमा एक कार्यक्रमकाबिच सार्वजनक गरिएको हो । कार्यक्रममा राजनीतिक दलका नेताहरूले मोहनचन्द्र अधिकारीको जीवन नेपाली राजनीतिको प्रेरणादायी पाटो भएको बताए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोहन चन्द्रको पुस्तक ७७ वर्षे कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण दस्तावेज भएको बताए । पूर्वप्रधानमन्त्री माधव नेपालले पुस्तकमा अझै मोहनचन्द्र अधिकारीका थुप्रै पाटो नआएको भन्दै त्यसका लागि काम गर्न मोहनचन्द्र अधिकारी प्रतिष्ठानलाई अनुरोध गरे । “एक पटक मोहनचन्द्र अधिकारीले झापा आन्दोलनको समीक्षा गरेर भन्ने र केपी ओलीले लेख्ने गरेको डायरी थियो, त्यो कता गयो खोज्नु पर्छ”, उनले भने।
उनका पुराना सहकर्मी पूर्वमन्त्री राधाकृष्ण मैनालीले मोहनचन्द्र झापा आन्दोलनको सुरुदेखि नै उमेर, योग्यता, जोसका हिसाबले समेत प्रेरणादायी रहेको बताए ।
झापा आन्दोलनका नेता सिपी मैनालीले ५५ वर्षअघि मोहनचन्द्र अधिकारीको जोसिलो नेतृत्वको परिणामस्वरूप आजको जनअधिकार प्राप्त भएको बताए । पुस्तक र अधिकारीको जीवनबारे बोल्दै एमाले नेता युवराज ज्ञवालीले मोहनचन्द्र अध्यात्म र भौतिकवाद समन्वय हुनुपर्छ भन्ने र गीताको राम्रो अध्ययन गरेका कम्युनिष्ट भएको बताए ।
वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले मोहनचन्द्रको सङ्घर्षबारे नयाँ पुस्तालाई थाहा दिनुपर्ने बताए । पूर्वगृहमन्त्री रमेश लेखकले एउटा पुस्ताको कठोर सङ्घर्षबाट अहिलेको लोकतन्त्र आएको हो भन्ने कुरा बुझाउनका लागि मोहनचन्द्र जस्ता नेताको जीवनी भएका पुस्तक आउनु सकारात्मक भएको बताए ।
नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा नभएकाले कम्युनिष्ट आन्दोलनले सोचेको सफलता नपाएको बताए ।
विक्रम संवत् १९९४ मा जन्मिएका अधिकारी आफ्नो काका मनमोहन अधिकारीदेखि मावलतर्फका बिपी कोइरालासम्मको सामीप्य फलस्वरूप राजनीतिमा लागेका थिए।
सुरुमै कम्युनिष्ट राजनीतिप्रति आकर्षित उनले २०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । राजनीतिक जीवनमा पहिलो पटक २०१५ सालमै जेल परेका उनले पटक पटक गरी १० वटा जेलमा १७ वर्ष बिताएका थिए ।
विसं २०४६ मा रिहा भएका मोहनचन्द्रलाई आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहले त्रिचन्द्र क्याम्पसमा भएको एक कार्यक्रममा ‘नेपालको नेल्सन मण्डेला’को सङ्ज्ञा दिएका थिए । लगत्तै भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरले दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा ‘एसियाको नेल्सन मण्डेला’ भनेपछि उनी नेपालको नेल्सन मण्डेलाको नामले चिनिन थालेका थिए । मोहनचन्द्र २०५० देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य थिए ।


